काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा तीन हजार र चाँदी एक सय २० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि सुन बिहीबार प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँ रहेको थियो।
यता बिहीबार प्रतितोला पाँच हजार दुई सय ५० मा कारोबार भएको असली चाँदीको भाउ घटेर पाँच हजार एक सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।




