Skip to main content

Nidan Media

नेपालमा वायु प्रदूषण घटाउन सात अर्ब ६४ करोड ऋण दिँदै विश्व बैंक

काठमाडौँ। नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंकले करिब ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । उक्त रकम वायु प्रदूषण नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ ।

विश्व बैंकले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यस सहयोगबाट ‘नेपाल क्लिन एयर एन्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालन गरिनेछ । परियोजना विशेषगरी उच्च वायु प्रदूषणको जोखिम रहेका काठमाडौं उपत्यका र तराईका केही क्षेत्रमा केन्द्रित रहनेछ ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ । उद्योगहरूमा स्वच्छ प्रविधि प्रयोग, प्रदूषण नियन्त्रण उपकरण जडान तथा वातावरणमैत्री उत्पादन प्रणाली लागू गर्न सहयोग गरिनेछ ।

यो परियोजना उद्योग विभाग र वातावरण विभागमार्फत कार्यान्वयन गरिने जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार काठमाडौं उपत्यका दक्षिण एसियाकै प्रदूषित सहरमध्ये एक मानिन्छ । सवारी साधनको धुँवा, उद्योगबाट निस्कने धुँवा, सडकको धुलो तथा खुला रूपमा फोहोर जलाउने प्रवृत्तिले वायु प्रदूषण बढ्दै गएको विज्ञहरू बताउँछन् ।

सरकारले पछिल्लो समय स्वच्छ ऊर्जा प्रयोग बढाउने, सार्वजनिक यातायातलाई विद्युतीय बनाउने तथा उद्योगहरूमा वातावरणीय मापदण्ड कडाइका साथ लागू गर्ने नीति अघि बढाएको छ । विज्ञहरूका अनुसार विश्व बैंकको यो सहयोगले प्रदूषण नियन्त्रण, जनस्वास्थ्य सुधार र दिगो आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.