पोखरा । मुग्लिन-नारायणगढ सडक आज राति पनि बन्द भएको छ । मुग्लिन नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो झर्नेक्रम नरोकिएका कारण सडक बन्द गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
शुक्रबार खसेको भीषण पहिरो शनिबार करिब ६ घण्टा लगाएर पन्छाई दिउँसो सडक सञ्चालन गरिएको थियो । शुक्रबार साँझ ६ः३० बजे पुनः भीषण पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजले जनाएको छ ।
आइतबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गरिने हुँदा सवारी चालकलाई सडकको लेन अनुशासन कायम गर्न र सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । पहिराे खस्नेक्रम नराेकिएपछि शुक्रबार रातिदेखि सडक बन्द गरिएकाे थियाे ।
यस्तो छ सडक डिभिजनको अपिल
मिति २०८२/०६/०४ गते । हिजाे साँझ करिब ६:३० बजेदेखि मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्द भएको सर्वविदितै छ । मुग्लिन तर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भईरहेकाे हुँदा हामिसँग ४ वटा लोडर र १ वटा Excavator भएपनि सुरक्षाको दृष्टिकोणले निर्वाध रूपमा पहिरो हटाउनकाे लागि दिनभरि नै समस्या भईरहेकाे थियाे । नारायणगढतर्फबाट एउटा loader, १ वटा Excavator मुग्लिनतर्फ बाट २ वटा loader, १ वटा excavator निरन्तर रूपमा परिचालन गरि पहिरो हटाउने कार्य हुँदाहुँदै पनि थप पहिरो खस्ने क्रम नराेकिएकाे हुँदा पहिरो पन्छाउने क्रममा माथिबाट ढुंगाहरू खसी झण्डै excavator operator ठुलो दुर्घटना हुनबाट जाेगियाे । पहिराे खस्ने जाेखिम कायमै रहेकोले रातको समयमा माथिबाट झरेको ढुंगा/पहिरो नदेखिने साथै सुरक्षाको दृष्टिकोणले पहिरो हटाउन संभव पनि नभएकोले संभव भएसम्म सबै उपकरणहरू प्रयोग गरि पहिरो हटाउन र छिटोभन्दा छिटो सवारी आवागमन सुचारू गर्नेमा हामी प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ। तसर्थ भाेलि बिहानै करिब ४:०० बजेतिर (झिसमिसे उज्यालोमा) पहिरो हटाउने कार्य सुचारू गरिनेछ । सडकमा राेकिएका सवारीसाधनहरू लेन अनुशासनमा राख्नुहुन र यात्रुमहानुभावहरू सावधानीपुर्वक सुरक्षित स्थानतिर गइदिनुहुन समेत हार्दिक अनुरोध गरिन्छ वैकल्पिक मार्गबारेमा पनि केहीबेरमा यसै पेजमा Update गरिने छ । यात्रु महानुभावहरूमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थि छाैं । धन्यवाद