पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।
उनले पार्टी परित्याग गर्ने चर्चा केही दिन अघिदेखि चल्दै आएको थियो ।
उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने भन्दै आलोचना गर्दै आइरहेकी थिइन् ।
पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ ।
उनले पार्टी नेतृत्वमाथि आलोचना गरेपछि उनीमाथि पार्टीका नेता तथा कार्यकर्ताले उनीमाथि चर्को आलोचना गरेका थिए ।
जेनजी पुस्ताको आन्दोलनमा पार्टीको भूमिकाप्रति उनी असन्तुष्ट थिइन् ।
उनले पार्टी परित्यागको घोषण गर्दै भनेकी छन्, ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’
श्रेष्ठ अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा पनि सहभागी भएकी थिइन् ।
योसँगै उनी मन्त्री बन्ने चर्चा गरिए पनि उनले त्यसलाई अस्वीकार गर्दै आफू मन्त्री नबनि सेवा गर्ने बताएकी थिइन् ।
श्रेष्ठले केही महिना अघि पार्टीको दोहोरो जिम्मेवारी नलिने भन्दै पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
नेता श्रेष्ठ र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) मिलेर नयाँ पार्टी खोल्ने चर्चा पनि केही अघि चलेको थियो ।