Nidan Media

फ्रान्स स्वीडेनलाई ३-० ले हराउँदै प्रिक्वार्टरफाइनलमा, एम्बाप्पेको दुई गोल

काठमाडौँ । फ्रान्स फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा बुधबार बिहान सम्पन्न अन्तिम ३२ को खेलमा स्वीडेनलाई ३-० ले पराजित गर्दै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

फ्रान्सको जितमा कप्तान केलियन एम्बाप्पे चम्किए। उनले दुई गोल गर्दा ब्राडली बारकोलाले एक गोल थपे।

पहिलो हाफको इन्जुरी समयमा (४५औँ मिनेट) उस्मान डेम्बेलेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एम्बाप्पेले फ्रान्सलाई अग्रता दिलाएका थिए।

त्यसपछि ५३औँ मिनेटमा माइकल ओलिसेको पासमा बारकोलाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३-० को सहज जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पे ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यस जितसँगै फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले विश्वकपमा प्रशिक्षकका रूपमा १७औँ जित निकाल्दै नयाँ कीर्तिमान पनि कायम गरेका छन्।

अब फ्रान्सले प्रिक्वार्टरफाइनलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि सहआयोजक क्यानाडा, ब्राजिल, पाराग्वे र नर्वे पनि अन्तिम १६ मा पुगिसकेका छन्।

क्यानाडाले दक्षिण अफ्रिकालाई १-०, ब्राजिलले जापानलाई २-१ ले पराजित गरेको थियो।

पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो भने नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.