काठमाडौँ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा शुरूआती टोलीमा नहुने भएका छन्। मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीलाई विश्राम दिने निर्णय गरिएको पुष्टि गरेका हुन्।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा स्कालोनीले टोलीले यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको उल्लेख गर्दै मेस्सीलाई आराम दिन आवश्यक ठानिएको बताए। उनले आवश्यकता परे दोस्रो हाफमा भने मेस्सीलाई मैदानमा उतार्न सकिने संकेत गरे।
स्कालोनीले जोर्डनविरुद्ध खेल्ने अन्य खेलाडीहरू पनि अवसरको हकदार रहेको बताउँदै सबैले प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको बताए।
‘भोलिको खेलमा मैदान उत्रने सबै खेलाडी तयार छन्। उनीहरू टोलीका महत्वपूर्ण सदस्य हुन्। प्रशिक्षणमा गरेको मेहनतकै कारण हामी यहाँसम्म आइपुगेका हौं। अवसर पाए सबैलाई खेलाउन चाहन्छु,’ स्कालोनीले भने।
अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले प्रतियोगितामा हालसम्म अर्जेन्टिनाका पाँचै गोल गरेका छन्।
उनको उत्कृष्ट प्रदर्शनकै मद्दतमा अर्जेन्टिनाले अल्जेरिया र अस्ट्रियामाथि लगातार जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
स्कालोनीले जोर्डन पाँच डिफेन्डरको रणनीतिमा खेल्ने टोली भएकाले अर्जेन्टिना पनि आवश्यकताअनुसार आफ्नो रणनीतिमा परिवर्तन गर्न तयार रहेको बताए।
अर्जेन्टिना र जोर्डनबीचको खेल शनिबार अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनको एटी एन्ड टी स्टेडियममा हुनेछ।
अर्जेन्टिनाले समूहको शीर्ष स्थान यसअघि नै सुरक्षित गरिसकेकाले यस खेलको नतिजाले समूहको वरीयतामा कुनै असर पार्ने छैन। लगातार दुई हार बेहोरेको जोर्डन भने प्रतियोगिताबाट बाहिरिइसकेको छ।




