Nidan Media

फिलिपिन्समा शक्तिशाली भूकम्प : १५ जनाको मृत्यु, सुनामीको खतरा जारी

काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ भन्दा बढी घाइते भएका छन् ।

भूकम्पपछि तटीय क्षेत्रहरूमा सुनामीको खतरा देखिएपछि उच्च सतर्कता अपनाइएको छ र प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी र जनरल सान्तोस सिटीसहितको सोक्सस्कार्गेन क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य क्षेत्रका मृतकहरू जोडिँदा कुल संख्या १५ पुगेको हो । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

भूकम्पपछि फिलिपिन्स सरकारले राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । समाज कल्याण तथा विकास विभागले प्रभावित क्षेत्रमा आपतकालीन खाद्यान्न र राहत सामग्री परिचालन गरेको जनाएको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले सम्बन्धित निकायलाई तत्काल उद्धार र राहत कार्यमा सक्रिय हुन निर्देशन दिएका छन् ।

भूकम्पको केन्द्र समुद्रनजिकै भएकाले फिलिपिन्स, इन्डोनेसिया र जापानका तटीय क्षेत्रमा सुनामीको उच्च सतर्कता जारी गरिएको छ र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.