काठमाडौँ । जापानको मुद्रास्फीति-समायोजित वास्तविक ज्याला (रियल वेज) गत अप्रिलमा १दशमलव९ प्रतिशतले वृद्धि भएको छ। हालै सार्वजनिक सरकारी तथ्याङ्कअनुसार त्यहाँको वास्तविक ज्यालामा लगातार चौथो महिनासम्म सुधार देखिएको छ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएअनुसार कामदारको आधारभूत तलब र ओभरटाइम भत्तासहितको औसत मासिक नगद आम्दानी (नोमिनल वेज) ३दशमलव५ प्रतिशतले बढेर तीन करोड १२ हजार ४२५ येन पुगेको छ, जुन करिब एक हजार ९०० अमेरिकी डलर बराबर हो। ज्याला वृद्धिदर तीन प्रतिशतभन्दा माथि रहने यो लगातार तेस्रो महिना भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, नियमित तलब (मुख्यतया आधारभूत तलब) ३दशमलव४ प्रतिशतले वृद्धि भई दुई करोड ७७ हजार ९१६ येन पुगेको तथ्याङ्कमा उल्लेख छ।
तर, ज्यालामा सुधार भए पनि जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको छुट्टै तथ्याङ्कअनुसार अप्रिलमा घरायसी खर्च वास्तविक रूपमा ०दशमलव५ प्रतिशतले घटेको छ। दुई वा सोभन्दा बढी सदस्य भएका घरपरिवारको औसत मासिक खर्च तीन करोड २८ हजार ९६९ येन रहेको देखिएको छ।
खर्च विवरणअनुसार निरन्तरको मुद्रास्फीतिका कारण खाद्य तथा पेय पदार्थमा ०दशमलव६ प्रतिशतले गिरावट आएको छ। कपडा तथा जुत्ताको खर्चमा १०दशमलव९ प्रतिशतको ठूलो कमी आएको छ भने ऊर्जा खपत घटेकाले उपयोगिता शुल्कमा पनि ८दशमलव६ प्रतिशतले गिरावट आएको छ।
जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा निजी उपभोगको हिस्सा आधाभन्दा बढी रहने भएकाले यी तथ्याङ्कलाई अर्थतन्त्रको महत्वपूर्ण सूचक मानिन्छ। ज्याला वृद्धि भए पनि उपभोग घटेकाले आन्तरिक बजार अझै पूर्ण रूपमा चलायमान हुन नसकेको अर्थविद्हरूले बताएका छन्।




