काठमाडौँ। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदका लागि छनोट हुन असफल भएको छ। तेस्रो स्थानका लागि भएको निर्णायक खेलमा चीनसँग डीएलएस नियमका आधारमा ५ विकेटले पराजित भएपछि नेपालको छनोट यात्रा समाप्त भएको हो।
वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो। नेपालका लागि कविता कुँवरले अविजित २२ रनको योगदान दिइन्। चीनकी मा रुइकेले २ विकेट लिइन्।
डीएलएस नियमअनुसार ७ ओभरमा ४३ रनको लक्ष्य पाएको चीनले ५ विकेट गुमाउँदै अन्तिम ओभरमा लक्ष्य पूरा गर्यो। चीनकी कप्तान मिङ्ए झुले सर्वाधिक १८ रन बनाइन्। नेपालकी रिया शर्माले २ विकेट हात पारिन्।
यो जितसँगै चीन एसियाली खेलकुदका लागि छनोट भएको छ। यसअघि फाइनलमा स्थान सुरक्षित गरिसकेका थाइल्यान्ड र मलेसिया पनि एसियाली खेलकुदमा छनोट भइसकेका छन्।
प्रतियोगिताको समूह ‘ए’ मा थाइल्यान्ड, मलेसिया र हङकङ रहेका थिए भने समूह ‘बी’ मा नेपाल, चीन र इन्डोनेसिया सहभागी थिए। छनोट प्रतियोगितामा अन्तिम तीन स्थानमा रहने टोलीहरूले एसियाली खेलकुदमा स्थान बनाउने प्रावधान थियो।




