Nidan Media

विश्वकप लिग-२ : अमेरिकालाई हराउँदै पाँचौँ स्थानमा उक्लियो नेपाल

काठमाडौं । उत्कृष्ट लयमा रहेको नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा अमेरिकामाथि शानदार जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

यससँगै नेपालले श्रृंखलाका चार खेलमध्ये तीन खेल जित्न सफल भएको छ । पहिलो खेलमा स्कटल्याण्डसँग वर्षाले प्रभावित खेलमा २ रनले पराजित भएको नेपाल त्यसपछि लगातार विजयी हुँदै लयमा फर्किएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार गर्‍यो । यो टीयू मैदानमा नेपालको अहिलेसम्मकै उच्च एकदिवसीय स्कोर हो । यसअघि यही मैदानमा अमेरिका र स्कटल्याण्डबीच ३२१ रन बनेको थियो ।

नेपालका लागि डा. इशान पाण्डे र उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । लगातार दोस्रो अर्धशतक बनाउने क्रममा पाण्डेले ८३ बलमा ८४ रनको आकर्षक इनिङ्स खेले । कप्तान रोहित पौडेलसँग उनले तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गरे । रोहितले ४६ रन जोडे ।

दीपेन्द्रले आक्रामक शैलीमा ब्याटिङ गर्दै २९ बलमै अर्धशतक पूरा गरे । उनले ३६ बलमा ५९ रन बनाउने क्रममा चार चौका र चार छक्का प्रहार गरे । उनी रनआउट हुन पुगेका थिए ।

त्यस्तै आसिफ शेखले ४३, कुशल भुर्तेलले २९ तथा आरिफ शेखले १० बलमा अविजित १८ रन बनाएर नेपालको स्कोर ३ सय नाघ्न सहयोग गरे ।

३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटियो । अमेरिकाका लागि सञ्जय कृष्णमुर्थीले सर्वाधिक ५६ रन बनाए पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन् ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए । ललित राजवंशी, गुल्शन झा र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए भने सोमपाल कामीले १ विकेट हात पारे ।

नेपालले यस श्रृंखलामा अमेरिकालाई दुवै खेलमा पराजित गरेको छ । पहिलो भेटमा नेपाल ९ विकेटले विजयी भएको थियो । यस्तै स्कटल्याण्डलाई पनि नेपालले ६ विकेटले हराएको थियो ।

लगातार तीन जितपछि नेपाल अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । नेपालले २८ खेलबाट २४ अंक जोडेको छ । अमेरिका २८ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा रहँदा समान ३८ अंक भएको स्कटल्याण्ड दोस्रो स्थानमा छ । ओमान ३१ अंकसहित तेस्रो तथा नेदरल्याण्ड्स २८ अंकसहित चौथो स्थानमा छन् ।

नामिबिया २२ अंकसहित छैटौँ स्थानमा रहँदा क्यानाडा २१ अंकसहित सातौँ स्थानमा छ । यूएई १४ अंकसहित पुछारमा रहेको छ ।

लगातार जितपछि नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावना कायम छ । यद्यपि सिधै छनोट हुन नेपालले अब बाँकी सबै खेल जित्नुपर्ने कठिन चुनौती रहेको छ । साथै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न नेपाल शीर्ष ६ भित्र रहनुपर्ने दबाबमा पनि छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.