काठमाडाैँ । नेपालमा बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल आयल निगमले नयाँ समायोजन गर्दा पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँले बढेर दुई सय १९ रुपैयाँ पुगेको छ।
साथै डिजेल र मट्टितेलमा प्रतिलिटर २५-२५ रुपैयाँ वृद्धि भई २०७ रुपैयाँ कायम भएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर सय रुपैयाँले बढेर दुई हजार १० रुपैयाँ पुगेको छ।
हवाई इन्धन (आन्तरिक) मा पनि प्रतिलिटर चार रुपैयाँ वृद्धि भई दुई सय ५७ रुपैयाँ निर्धारण गरिएको छ।
यी मूल्यहरू काठमाडौँ उपत्यकाका लागि लागू हुनेछन्।
निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै गइरहेको छ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा कम हुन नसकेपछि मूल्य समायोजन गर्न बाध्य भएको जनाएको छ।
मूल्यवृद्धिपछि पनि निगमलाई प्रत्येक १५ दिनमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।




