काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएका खेलहरूमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स विजयी भएका छन्।
राजस्थान रोयल्सले गुजरात टाइटन्स लाई ६ रनले पराजित गरेको हो। अहमदाबादमा भएको खेलमा राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै २१० रन बनाएको थियो। राजस्थानका लागि ध्रुव जुरेल ले सर्वाधिक ७५ रन बनाए।
लगातार दोस्रो जित निकालेको राजस्थान ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको गुजरात अंकविहीन रहँदै सातौं स्थानमा छ।
यसैगरी अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले हरायो। मुम्बईले दिएको १६३ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। लगातार दोस्रो जितसँगै दिल्ली ४ अंकका साथ दोस्रो स्थानमा पुगेको छ भने पहिलो हार बेहोरेको मुम्बई छैटौं स्थानमा छ।





