Nidan Media

भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, सात जनाको मृत्यु

काठमाडौँ। भारतको झारखण्ड राज्यको चतरा जिल्लामा सोमबार साँझ एयर एम्बुलेन्स दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ।

राँचीबाट बिरामी लिएर दिल्ली उडेको बीचक्राफ्ट सी-९० विमान मौसम खराब भएका कारण मार्ग परिवर्तन गर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ।

दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिले सञ्चालन गरेको भिटी-एजेभी नम्बरको उक्त विमानमा एक बिरामीसहित सात जना सवार थिए। हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा सबै यात्रुको मृत्यु भएको हो।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार विमान साँझ ७:११ बजे राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो।

कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कपछि मौसमका कारण मार्ग परिवर्तन गर्न अनुरोध गरिएको थियो।

तर साँझ ७:३४ बजे वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण-पूर्व पुग्दा कोलकातासँगको सञ्चार र रडार सम्पर्क एकाएक विच्छेद भएको डीजीसीएको भनाइ छ। त्यसपछि वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्क हुन सकेन।

दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार, उनका सहयोगी विकास गुप्ता, चिकित्सक सचिन कुमार मिश्र, सहयोगी अर्चना देवी र धुरु कुमार तथा दुई क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंह रहेका छन्।

आगलागीमा गम्भीर घाइते भएका सञ्जय कुमारलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लगिँदै थियो।

राँची विमानस्थलका निर्देशक विनोद कुमारले खराब मौसम दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान व्यक्त गरे पनि वास्तविक कारण छानबिनपछि मात्र स्पष्ट हुने बताएका छन्। घटनाको औपचारिक अनुसन्धान सुरु भइसकेको छ।

उक्त विमान सञ्चालक रेडबर्ड एयरवेज सन् २०१८ मा अभिनेता अक्षय कुमारद्वारा स्थापना गरिएको कम्पनी हो। कम्पनीले २०१९ अगस्टमा चार्टर तथा एयर एम्बुलेन्सजस्ता गैर–अनुसूचित उडानका लागि अनुमति पाएको थियो र २४सै घण्टा मेडिकल इभ्याकुएसन सेवा दिने दाबी गर्दै आएको छ।

हालै चार्टर विमान सञ्चालन र नियामक संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला यो दुर्घटना भएको हो। यसअघि जनवरी २८ मा महाराष्ट्रको बारामतीमा लियरजेट–४५ दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि स्वतन्त्र छानबिनको मागसमेत उठेको थियो।

डीजीसीएले गैर-अनुसूचित उडान सञ्चालनकर्तामाथि विशेष अडिट गरिरहेको जनाएको भए पनि ती प्रतिवेदन सार्वजनिक गरिएका छैनन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.