बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं २ कोठियाकी १७ वर्षीया बिनिता परियार छन् ।
जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ ।
चिन्तजनक अवस्थामा फेला पारी उपचारको लागि बर्दिया अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्रबहादुर मल्लले बताए ।
पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पुस महिनाभित्र नै हालसम्म तीन जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चालु आर्थिक बर्षको हाल सम्म चितुवा र बाघको आक्रमणबाट छ जनाको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ ।
हाल बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भन्दा पनि सामुदायिक वन क्षेत्रमा बढी चितुवा र बाघको आक्रमण बढेको छ ।





