Nidan Media

पच्चीसौँ आहा रारा पोखरा गोल्ड माघ अन्तिम साता

पोखरा । पच्चीसौँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने भएको छ।

आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलनमार्फत अखिल नेपाल फुटबल सङ्घबाट प्रतियोगिता सञ्चालनका लागि समय तालिका प्राप्त भएको जानकारी दिएको छ।

क्लब अध्यक्ष केशवबहादुर थापाका अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित उक्त प्रतियोगिताको तयारी अगाडि बढाइएको छ।

प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका स्तरीय क्लबले भाग लिने उनको भनाइ छ, यद्यपि सहभागी हुने टोलीको सङ्ख्या अझै टुङ्गो लागिनसकेको उनले बताए।

पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले प्रतियोगिताले फुटबलका माध्यमबाट पोखरालाई चिनाउने काम गरेको बताउँदै फुटबलको विकासका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको बताए।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्ड कपसँगको सहकार्य निरन्तर रहने बताए।

प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका तथा विशेष सहयोगीका रूपमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल सङ्घ लगायतका निकायहरू रहेका छन्।

गत वर्ष भएको २४औँ संस्करणको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको थियो भने नेपाल पुलिस क्लब उपविजेता बनेको थियो।

पत्रकार सम्मेलनमा क्लबले गत कात्तिक १४ गते आयोजना गरेको ‘सहारा च्यारेटी डिनर नाइट’ कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गरेको थियो।

क्लबका महासचिव गङ्गाराम पौडेलका अनुसार उक्त कार्यक्रमबाट २४ लाख १९ हजार रुपैयाँ सङ्कलन भएकामा छ लाख ७७ हजार खर्च भई १७ लाख ४१ हजार रुपैयाँ बचत भएको छ।

बचत भएको उक्त रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ सञ्चालनमा खर्च हुने छ। हाल उक्त एकेडेमीमा १६ जिल्लाका ३० किशोरले आवासीय सुविधासहित फुटबल सिकिरहेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.