Skip to main content

Nidan Media

चक्रवात ‘अर्णव’को प्रभावले भारी वर्षा र हिमपहिरोको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको छ।

मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले भारीदेखि अति भारी वर्षा, आकस्मिक बाढी, पहिरो तथा हिमाली क्षेत्रमा हिमपहिरोको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ।

कोशी र बागमतीका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। मधेस, कोशी र बागमतीका पहाडी तथा तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा अधिकांश बदली रहने पूर्वानुमान छ। यीमध्ये कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

अविरल वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्ने, आकस्मिक बाढी आउने, पहिरो जाने, सडक भासिने र नदीकिनार कटान हुने जोखिम रहेको प्रशासनले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात र हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ।

प्रशासनले जोखिमयुक्त समयमा नदी तथा खोला किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने तथा ढुङ्गा, बालुवा र गिट्टी निकाल्ने काम नगर्न आग्रह गरेको छ। बाढीले बगाएर ल्याएका सामग्री संकलन गर्न नदीकिनारमा नजान र बालबालिकालाई त्यस्ता जोखिमयुक्त स्थानमा जान नदिन पनि अभिभावकलाई अनुरोध गरिएको छ।

नदी तथा खोला किनार र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई जलसतह बढेमा तत्काल सुरक्षित स्थानमा सर्न, सवारीसाधन नदीकिनार तथा बगरमा पार्किङ नगर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा यात्रामा रहेका पर्यटकलाई पदयात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्न पनि भनिएको छ।

प्रशासनले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। विपद्को अवस्था आएमा नजिकको प्रहरी कार्यालय, प्रहरीको आपत्कालीन नम्बर १०० वा विपद् सूचना तथा उद्धारको टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.