काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे शुरू हुनेछ।
विगतका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यस संस्करणमा राम्रो प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाउने लक्ष्य राखेको छ।
अर्कोतर्फ, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम पहिलो खेलमा व्यहोरेको हार बिर्सेर जितको लयमा फर्कन चाहन्छ।
लगातार दुई संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक उपाधि उचाल्ने अभियानमा छ।
आजको खेल दुवै टोलीका लागि प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने अवसर हुनेछ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएलको तेस्रो संस्करणमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगितामा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँगै विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स सहभागी छन्।
प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ८० लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ।
लिग चरणपछि उत्कृष्ट टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन्। एनपीएलको फाइनल खेल मङ्सिर ५ गते हुनेछ।




