Skip to main content

Nidan Media

एनपीएलमा चितवन राइनोजको विजयी शुरूआत, विराटनगर ८ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी शुरूआत गरेको छ। प्रतियोगिताको दोस्रो खेलमा चितवनले विराटनगर किङ्ग्सलाई आठ रनले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर १४९ रनमात्र बनाउन सक्यो।

विराटनगरका लागि इमरान शेखले ३९ र आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाए। लोकेश बमले २६ रन जोडे पनि अन्य नेपाली ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

चितवनको जितमा नेपाली बलर कमल ऐरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले २६ रन खर्चेर चार विकेट लिए। रिजन ढकालले दुई विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका लागि डाविड मलानले ५० बलमा पाँच छक्कासहित ७० रन बनाए। कप्तान रवि बोपाराले २६ बलमा अविजित ३२ तथा डान माउसीले २२ बलमा अविजित २९ रन जोडे।

विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथा असलंकाले समान एक विकेट लिए। चितवनका देव खनालले १२ र अर्जुन साउदले तीन रन बनाए।

एनपीएलको तेस्रो खेलमा आजै जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो।

तेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लगायतका नयाँ सुविधा थपिएका छन्।

एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्।

लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो।

नेपाल क्रिकेट संघका अनुसार यस संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ।

उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.