Skip to main content

Nidan Media

यमनको होदेइदाहमा हवाई आक्रमण: मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौँ। यमनको लालसागर तटीय शहर होदेइदाहमा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

सोमबार बिहान दूरसञ्चार केन्द्रहरूलाई लक्षित गरी गरिएको आक्रमणमा अन्य ११ जना घाइते भएका छन्।

हुथी समूहको नियन्त्रणमा रहेको अल-मसिराह टेलिभिजनले हुथी दूरसञ्चार विभागलाई उद्धृत गर्दै आक्रमणमा १७ जना कर्मचारीको मृत्यु भएको जनाएको छ।

यसअघि उक्त आक्रमणमा ४ जनाको मृत्यु र १८ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो।

आक्रमणबाट दूरसञ्चार केन्द्र, कर्मचारी आवास, मस्जिद तथा सञ्चार टावरमा ठूलो क्षति पुगेको छ। त्यसका कारण होदेइदाहका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको समाचारमा उल्लेख छ।

हुथी सञ्चारमाध्यमले आक्रमणमा अमेरिकी निर्मित जीबीयू-३१ बम प्रयोग गरिएको दाबी गरेका छन्।

आक्रमणका क्रममा विमानहरू आकाशमै रहिरहेकाले उद्धार कार्यमा समेत अवरोध पुगेको उनीहरूको भनाइ छ। हुथी समूहले आक्रमणमा साउदी अरेबियाका लडाकु विमान संलग्न रहेको आरोप लगाएको छ।

यमनको हुथी समूह र साउदी नेतृत्वको गठबन्धनको समर्थन प्राप्त सरकारी सेनाबीच तनाव बढिरहेका बेला पछिल्लो आक्रमण भएको हो।

हुथी समूहले पछिल्लो समय साउदी अरेबियाका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गर्दै आएको छ। त्यसको जवाफमा यमनका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण तीव्र भएको हुथी सञ्चारमाध्यमले जनाएका छन्।

यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ। त्यतिबेला हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका अधिकांश क्षेत्र कब्जा गरेपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप गरेको थियो। त्यसयता यमनमा द्वन्द्वले निरन्तरता पाउँदै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.