Skip to main content

Nidan Media

ओलाङचुङगोलामा पटक-पटक भूकम्प गएपछि स्थानीय त्रासमा

काठमाडौँ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक-पटक भूकम्प जान थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएपछि उनीहरूमा थप त्रास फैलिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। बिहान दैनिक कामकाजमा लागिरहेका बेला अचानक जमिन हल्लिएपछि स्थानीय आत्तिएका थिए।

मैवाखोला गाउँपालिका-३ साँघुकी निर्मला लिम्बुले भूकम्पको धक्काले आफू त्रसित भएको बताइन्। कम्पन रोकिएपछि आफन्तलाई फोन गरेर अवस्था बुझेपछि मात्र मन सम्हालिएको उनको भनाइ छ।

फक्ताङलुङ गाउँपालिका-६ लेलेपकी मनमाया लिम्बुले जमिन र घर हल्लिन थालेपछि आत्तिएर चिच्याएको अनुभव सुनाइन्।

ओलाङचुङगोला क्षेत्रमा भूकम्पको निकै ठूलो धक्का महसुस भए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाले बताए।

उनका अनुसार घरहरू निकै हल्लिए पनि ओलाङचुङगोला र जिल्लाकै उच्च स्थानमा रहेको याङमा गाउँमा मानवीय तथा भौतिक क्षति भएको जानकारी छैन।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले पनि जिल्लामा हालसम्म क्षतिको विवरण प्राप्त नभएको बताए। प्रशासन र प्रहरीमार्फत क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांकअनुसार ओलाङचुङगोला केन्द्रविन्दु भएर २०७७ यता चारपटक भूकम्प गएको छ।

यसअघि २०७७ माघ २७ गते बिहान ७ः३५ बजे ५ दशमलव ४, २०७९ वैशाख १२ गते साँझ ७ः१७ बजे ३ दशमलव ५ र २०७९ माघ ३० गते बिहान ४ः३० बजे ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.