काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि शुरू हुने फाइनलले अघिल्लो संस्करणको इतिहास दोहोर्याउने वा नयाँ विजेता दिनेछ।
गत संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि यी दुई टोली उपाधि भिडन्तमा आमनेसामने भएपछि लुम्बिनी लगातार दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ। सुदूरपश्चिम भने अघिल्लो फाइनलको हारको बदला लिँदै पहिलोपटक उपाधि जित्न चाहन्छ।
यस संस्करणमा यी टोलीबीच भएका दुवै भेटमा लुम्बिनी विजयी भएको छ। लिग चरणको पहिलो खेलमा सुदूरपश्चिमलाई ७ विकेटले हराएको लुम्बिनीले पहिलो क्वालिफायरमा पनि पराजित गर्दै सिधै फाइनलमा स्थान बनाएको थियो। एनपीएल इतिहासमा पाँचपटक आमनेसामने हुँदा लुम्बिनीले ३ र सुदूरपश्चिमले २ खेल जितेका छन्। पछिल्ला तीनै भेटमा लुम्बिनी विजयी छ।
लुम्बिनीले लिग चरणमा स्थिर प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको थियो। वर्षाका कारण चितवनसँगको खेल रद्द भए पनि टोलीले पोखरा, जनकपुर, कर्णाली र विराटनगरलाई हराएको थियो।
ब्याटिङमा डार्सी सर्ट, निरोशन डिक्वेला, कप्तान रोहित पौडेल र सन्दीप जोरा टोलीका मुख्य आधार हुन्। बलिङमा रुबेन ट्रम्पलमन, शेर मल्ल र किशोर महतोको प्रदर्शन महत्त्वपूर्ण हुनेछ।
कप्तान रोहितले टोली फाइनलका लागि तयार र उत्साहित रहेको बताएका छन्। पछिल्ला खेलमा राम्रो प्रदर्शन गरे पनि फाइनलमा नयाँ चुनौती हुने उनको भनाइ छ। लगातार दोस्रोपटक उपाधि जितेर एनपीएलमा नयाँ कीर्तिमान बनाउने अवसरसमेत रोहितसँग छ।
सुदूरपश्चिमको यात्रा भने केही उतारचढावपूर्ण रह्यो। लिग चरणमा दोस्रो भएको टोली पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि दोस्रो क्वालिफायरमा चितवनलाई हराएर फाइनल पुगेको हो।
कप्तान दीपेन्द्रसिंह ऐरी, जर्ज मन्से, इशान पान्डे र थरिन्दु रत्नायकेको ब्याटिङ तथा स्कट कुग्लेइन र हेमन्त धामीको बलिङ टोलीका लागि महत्त्वपूर्ण हुनेछ। दीपेन्द्रले पनि पछिल्ला खेललाई फाइनलको तयारीका रूपमा लिएको बताएका छन्।
लुम्बिनीले आफ्नो वर्चस्व कायम राख्ला वा सुदूरपश्चिमले लगातारको हारको क्रम तोड्दै उपाधि उचाल्ला भन्ने निर्णय मैदानको प्रदर्शनले गर्नेछ।




