काठमाडौँ। देशका १० जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल, स्कुटर, पिकअप, हायस, कार र अटो संलग्न छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका-६ मा मोटरसाइकलबाट लडेर घाइते भएकी कैलालीको जानकी गाउँपालिका-९ की २० वर्षीया सुकृति कर्णको उपचारका क्रममा मृत्यु भएको छ। रौतहटको राजदेवी नगरपालिका-१ मा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा १८ वर्षीय अनिकेत पासवान र २५ वर्षीय सुनिल हजराको मृत्यु भएको छ।
बाराको निजगढ नगरपालिका-११ मा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २४ वर्षीय राहुल सहनीको मृत्यु भएको छ। महोत्तरीको बर्दिबास नगरपालिका-३ मा पिकअपले घरको बरण्डामा बसिरहेकी ८० वर्षीया दिव्या कुमारी विष्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-४ मा मोटरसाइकल दुर्घटना हुँदा चालक १७ वर्षीय राकेश मण्डलको मृत्यु भएको छ।
सिन्धुलीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका-९ मा मोटरसाइकल र हायस ठोक्किँदा मोटरसाइकल चालक २० वर्षीय अभिशेक चौधरीको मृत्यु भएको छ। हरिहरपुरगढी गाउँपालिका-३ मा कार दुर्घटना हुँदा घाइते भएकी ४५ वर्षीया निशम रिजालको उपचारका क्रममा मृत्यु भएको छ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-८ मा मोटरसाइकल पल्टिँदा चालक २५ वर्षीय ओमकार सहानीको मृत्यु भएको छ।
मुगुको छायानाथ रारा नगरपालिका-७ मा हाइलक्स गाडी दुर्घटना हुँदा विजय बस्नेतसहित तीन जनाको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएकी अन्जु थापाको पनि उपचारका क्रममा मृत्यु भएको छ। यस घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।
कैलालीको टीकापुर नगरपालिका-४ मा अटोको ठक्करबाट घाइते भएका ८३ वर्षीय पूर्णबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ। बझाङको बुंगल नगरपालिका-१० मा ब्रेक फेल भएको अटो करिब ९०० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र ४ वर्षीय रियास महरा रहेका छन्।



