काठमाडौँ। प्रकृति र सूर्यदेवको आराधना गरी मनाइने तराईवासीको महान् पर्व छठ आज हर्षोल्लासका साथ मनाइँदै छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य अर्पण गरिँदै छ।
पौराणिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उनीहरूको गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरिएको थियो। त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले अटल सौभाग्य र पतिप्रेम प्राप्तिका लागि पहिलोपटक यो व्रत गरेको उल्लेख रहेको धार्मिक मान्यता छ।
चार दिनसम्म मनाइने पर्वको पहिलो दिन कार्तिक शुक्ल चतुर्थीमा स्नान गरी एक छाक सात्विक भोजन खाने गरिन्छ। दोस्रो दिन पञ्चमीमा सखर हालेर बनाइएको खीर अर्थात् खरना षष्ठी मातालाई चढाएर बर्तालुले प्रसादका रूपमा ग्रहण गर्छन्। त्यसपछि नुन नखाई फलाहार गर्ने परम्परा छ।
आज षष्ठीका दिन बर्तालुहरू निराहार व्रत बसी नदी, पोखरी तथा तलाउका किनारमा बनाइएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्छन्। रातभर जाग्राम बसेपछि भोलि बिहान कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो पर्व सम्पन्न हुनेछ।
विसं २०४६ अघिसम्म तराई तथा मधेसका सीमित क्षेत्रमा मात्र मनाइने छठले पछिल्लो समय राष्ट्रिय तथा सांस्कृतिक पर्वको स्वरूप ग्रहण गरेको छ। राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा नदी किनार तथा पोखरीहरू सजाइएको छ।
काठमाडौँका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, नागपोखरी, गहनापोखरी तथा बागमती, विष्णुमती र नख्खु नदी किनारमा छठ पूजाको तयारी गरिएको छ। सरकारले पर्वका अवसरमा सार्वजनिक बिदासमेत दिएको छ।



