Skip to main content

Nidan Media

चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते

चितवन। चितवनको राप्ती नगरपालिका-२, सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन्।

आइतबार बिहान भरतपुरबाट हेटौँडा हुँदै राजविराज जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस सडक छेउको नालीमा पल्टिएको हो।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। बसमा सवार करिब २३ जनामध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये पाँच जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको छ।

घाइते हुनेमा चितवनका सविन तामाङ, फूलमती यादव, सर्लाहीकी कैशलिया देवी राम, उदयपुरका अमृतबहादुर लुङ्गेली मगर र सुनसरीकी रमिना चौधरी थारू छन्। १२ हप्ताकी गर्भवती रमिनाको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेको अवस्था सामान्य छ। उनीहरू सबैलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ।

बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ का ४६ वर्षीय नवराज कार्की प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.