काठमाडौँ । भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
शनिबार राति वर्षा सुरु भएपछि पूजा पण्डाल नजिक भेला भएका मानिस ओत लाग्न दौडिँदा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको थियो। घाइतेहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ।
मुख्यमन्त्री सुभेन्दु अधिकारीले घटनामा १९ जनाको मृत्यु भएको पुष्टि गर्दै उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी छानबिन गरिने बताएका छन्।
घटनाबारे अनुसन्धान शुरू गरेको प्रहरीले पूजा पण्डालका केही आयोजक, निजी सुरक्षाकर्मी र ड्युटीमा रहेका कर्मचारीलाई हिरासतमा लिएको छ। भीड व्यवस्थापन र सुरक्षा सतर्कतामा भएको कमजोरीबारे अनुसन्धान भइरहेको छ।
कोलकाताका करिब तीन हजार पाँच सय पण्डालमध्ये बढी भीड हुने स्थल अस्थायी रूपमा बन्द गर्न प्रशासनले सुझाव दिएको छ।
भारतमा यसअघि पनि धार्मिक पर्वका क्रममा भागदौडका घटना भएका छन्।
सन् २०२५ जनवरीमा महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको थियो भने सन् २०१३ मा मध्य प्रदेशमा भएको भागदौडमा ११५ भन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका थिए।




