Skip to main content

Nidan Media

नेपाल र क्यानडाबीच आज प्रतिस्पर्धा, शीर्ष ६ मा पुग्ने नेपालको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरू हुनेछ।

नेपाल र क्यानडा दुवैका लागि यो खेल महत्त्वपूर्ण छ। नेपाल लगातार तेस्रो जित निकाल्दै शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यमा छ भने क्यानडा जित हासिल गरेर शीर्ष ६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

नेपालले जारी शृङ्खलाको पहिलो खेलमा क्यानडालाई २४ रनले र दोस्रो खेलमा आयोजक ओमानलाई ११३ रनले पराजित गरेको थियो। क्यानडाले भने पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराएको थियो।

लिग–२ को अङ्क तालिकामा नेपाल ३४ खेलबाट २८ अङ्कसहित छैटौँ स्थानमा छ। नेपालले १३ खेल जितेको छ भने १९ खेलमा पराजय र दुई खेल बराबरी खेलेको छ। सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलबाट २७ अङ्क जोडेको छ।

नेपालले आजको खेल जितेमा एक खेल बाँकी छँदै शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्नेछ। पराजित भएमा भने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने दबाब रहनेछ।

शीर्ष ६ मा पर्ने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने भएकाले दुवै टोलीका लागि आजको खेल निर्णायक बनेको छ।

नेपाल र क्यानडाबीच हालसम्म भएका छ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.