काठमाडौँ। दैनिक एक मुठी अर्थात् करिब ४० ग्राम ओखर सेवन गर्दा मानिसको मुड सुधार्न सहयोग पुग्न सक्ने एक अध्ययनले देखाएको छ।
स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ओखर सेवन गरेका युवामा मुडमा सुधार देखिएको हो।
आठ हप्ताको सेवनपछि मुडमा सुधार
‘फुड एन्ड फङ्सन’ जर्नलमा प्रकाशित अध्ययनमा औसत २४ वर्ष उमेरका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो। १८ हप्तासम्म गरिएको क्लिनिकल परीक्षणका क्रममा सहभागीलाई आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर खुवाइएको थियो। त्यसपछि ओखर सेवन गरेको र नगरेको अवधिका नतिजा तुलना गरिएको थियो।
अध्ययनमा ओखर सेवनपछि समग्र मानसिक असन्तुलनमा कमी आएको पाइएको छ। सहभागीमा रिस र थकानको स्तर घट्नुका साथै भावनात्मक अवस्थाका कारण बढी खाने बानी र खानासँग जोडिएको अपराधबोधका केही पक्षमा समेत सुधार देखिएको अनुसन्धानकर्ताले बताएका छन्।
आन्द्राका सूक्ष्म जीवाणु र सेरोटोनिनको भूमिका
बार्सिलोना विश्वविद्यालयको टोरेबेरा क्याम्पसकी पोषण तथा खाद्य विज्ञान प्राध्यापक डा. मारिया इज्क्विएर्दो-पुलिडोको नेतृत्वमा भएको अनुसन्धानले ओखर र मानसिक स्वास्थ्यबीचको सम्भावित सम्बन्धमा आन्द्रामा रहेका सूक्ष्म जीवाणु (गट माइक्रोबायोटा) र सेरोटोनिनको भूमिकासमेत औँल्याएको छ।
अनुसन्धानका क्रममा ओखर सेवन गर्ने सहभागीको पिसाबमा युरोलिथिन र ५-एचआईएएको मात्रा उल्लेख्य रूपमा बढेको पाइएको थियो।
युरोलिथिन ओखरमा पाइने पोलिफिनोललाई आन्द्राका सूक्ष्म जीवाणुले रूपान्तरण गर्दा बन्ने पदार्थ हो। यसमा एन्टिअक्सिडेन्ट तथा शरीरमा सुन्निने प्रक्रिया कम गर्न सहयोग गर्ने गुण पाइन्छ।
त्यस्तै, ५-एचआईएए सेरोटोनिनको प्रमुख चयापचय पदार्थ हो। सेरोटोनिनलाई मुड, भावना र मानसिक स्वास्थ्यसँग सम्बन्धित महत्त्वपूर्ण रसायन मानिन्छ।
अनुसन्धानकर्ताका अनुसार युरोलिथिन र सेरोटोनिनको चयापचय प्रक्रियाबीच देखिएको सम्बन्धले ओखर सेवन, आन्द्राका सूक्ष्म जीवाणु र भावनात्मक स्वास्थ्यबीचको सम्भावित सम्बन्धबारे थप अध्ययनको बाटो खोलेको छ।
निद्रासँगको सम्बन्ध पनि अध्ययन
प्रमुख अनुसन्धानकर्ता डा. इज्क्विएर्दो-पुलिडोले ओखर सेवनपछि मुडमा सुधार देखिनुका साथै त्यससँग सम्बन्धित जैविक सूचकमा पनि परिवर्तन आउनु महत्त्वपूर्ण भएको बताएकी छन्।
यसअघि सन् २०२५ मा यही अनुसन्धान समूहले गरेको अर्को अध्ययनमा ओखर सेवनपछि निद्राको नियमनमा भूमिका खेल्ने हर्मोन मेलाटोनिनको जैविक सूचक बढेको पाइएको थियो।
ओखरमा प्रोटिन, फाइबर, ट्रिप्टोफान, ओमेगा-३ फ्याटी एसिड, म्याग्नेसियम र पोलिफिनोल पाइन्छ। ट्रिप्टोफान सेरोटोनिन निर्माण प्रक्रियासँग सम्बन्धित एमिनो एसिड हो भने ओमेगा–३ र पोलिफिनोलले मस्तिष्कको कार्यसँग सम्बन्धित प्रक्रियामा भूमिका खेल्न सक्छन्।





