काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू र पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्ण हल्ला फैलाइएको भन्दै त्यसलाई अस्वीकार गरेका छन्।
उनले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको स्पष्ट पार्दै आधिकारिकताको कानुनी तथा राजनीतिक लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरे।
फिक्सर भनिएका इनाम सापकोटा प्रहरी हिरासतमा रहेको अवस्थामा उनीसँग जोडेर सार्वजनिक गरिएको अडियोमा आफ्नो नामसमेत जोडिएको विषयमा फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै थापाले धारणा राखे। उनले उक्त अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई जानकारी नभएको बताए। अडियोमा सुनिएको भनिएको विषयको पछि लाग्नुभन्दा निष्पक्ष अनुसन्धानबाट सबै तथ्य बाहिर आउनुपर्ने उनको भनाइ छ।
थापाले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्रको विद्रोहको संज्ञा दिए। भदौ २३ र २४ गते नवयुवाले गरेको विद्रोहको सम्मान गर्दै पार्टीमा परिवर्तन आवश्यक रहेको आवाज उठाउँदा प्रतिरोध भएको र त्यसपछि पार्टीका तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहमा आफूहरू सहभागी भएको उनले बताए।
विशेष महाधिवेशनका क्रममा परिणामको चिन्ता नगरी परिवर्तनका लागि अघि बढेको उल्लेख गर्दै उनले आधिकारिकताको राजनीतिक तथा कानुनी लडाइँमा एक सुका पनि आर्थिक लेनदेन वा अनुचित काम नगरेको दाबी गरे।
इनाम सापकोटासँग जोडिएको अडियोबारे आफूले सार्वजनिक रूपमा जवाफ दिइरहनुपर्ने विषय नभएको भन्दै उनले अब प्रश्न आफूहरूलाई नभई अनुसन्धान गर्ने निकायलाई सोध्नुपर्ने बताए। सापकोटा प्रहरी हिरासतमा रहेकाले उनीसँग सम्बन्धित विषयमा आवश्यक सोधपुछ गर्न र अनुसन्धान निष्पक्ष भए/नभएको निगरानी गर्न उनले सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरे। निष्पक्ष अनुसन्धान भए दूधको दूध र पानीको पानी छुट्टिने उनको भनाइ छ।
अडियो सार्वजनिक भएपछि आफू डराएर पार्टीका नेताहरू भेट्न थालेको र राति बैठक गरेको भन्ने प्रचारसमेत गलत रहेको थापाले बताए। मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले आगामी पाँचदेखि सात दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले अन्य राजनीतिक दलका नेताहरूसँग भेटघाट र संवाद स्वाभाविक भएको उनको स्पष्टीकरण छ।
यही सिलसिलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको उनले बताए। सरकारका विषयमा लुकेर छलफल गर्नुपर्ने कुनै कुरा नरहेको उनको भनाइ छ।
कांग्रेसले वर्तमान सरकार पाँच वर्षका लागि बनेको जनादेशलाई सम्मान गर्ने भए पनि सरकारले जनताका वास्तविक समस्यामा ध्यान दिनुपर्ने थापाले बताए। प्राकृतिक विपत्तिबाट घरबारविहीन भएकाहरूको पुनर्स्थापना, सुकुमवासीको व्यवस्थापन, रोजगारी सिर्जना, लगानी अभिवृद्धि र अर्थतन्त्र सुधार सरकारका प्राथमिकता हुनुपर्ने उनको धारणा छ। सही काममा सरकारलाई साथ र सहयोग गर्ने तर गलत काममा प्रश्न उठाउने तथा आवश्यक परे प्रतिवाद गर्ने उनले बताए।
सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूहरूविरुद्ध नियोजित रूपमा गलत भाष्य निर्माण गर्न थालिएको थापाको आरोप छ। तर, यस्तो प्रचारले सरकारका गलत काममाथि प्रश्न उठाउने आफ्नो जिम्मेवारी नरोकिने उनले स्पष्ट पारे। लोकतान्त्रिक अधिकार खुम्च्याउने र संस्थाहरूलाई कमजोर बनाउने प्रयास भए आफूहरू चुप लागेर नबस्ने उनको भनाइ छ।
आफ्नो नैतिकता र स्वच्छतामाथि प्रश्न उठाइएको विषयमा थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गरे। आफ्नो हात सफा रहेको र कुनै अनैतिक काममा संलग्न नभएको उल्लेख गर्दै उनले विगतमा शक्तिशाली सत्तासँग समेत गलत कामका विषयमा प्रश्न उठाउँदै आएको बताए। आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामको विरोध गर्न नछाडेको उनको भनाइ छ।
थापाले समर्थक तथा शुभेच्छुकलाई आफूविरुद्ध फैलाइएका हल्लाबाट विचलित नहुन आग्रह गर्दै लोकतन्त्रमा प्रश्न गर्ने अधिकार जोगाउनुपर्नेमा जोड दिए। प्रायोजित हल्लाका कारण सही प्रश्नहरू मर्न नहुने भन्दै उनले प्रश्न गर्ने अधिकार समाप्त भए लोकतन्त्र र देशको प्रगतिसमेत प्रभावित हुने बताए।





