काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा उत्रिएका छन्।
आफूलाई प्रहरी प्रमुखबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन्।
बुधबार सरकारले कार्कीलाई महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयसँगै डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरिएको थियो। केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
सरकारको यही निर्णयलाई चुनौती दिँदै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।
कार्कीनिकट अधिवक्ता टिकाबहादुर कुँवरले महानिरीक्षक नियुक्तिविरुद्ध रिट पुगेको पुष्टि गरेका छन्। अहिले उक्त रिट दर्ता प्रक्रियामा रहेको छ।
सरकारको निर्णयपछि शुरू भएको प्रहरी नेतृत्वको विवाद अब अदालतसम्म पुगेको छ।
सर्वोच्च अदालतले यस विषयमा कस्तो निर्णय गर्छ भन्ने चासो बढेको छ।




