काठमाडौँ। सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।
बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी केसीलाई प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरिएको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार कार्कीको जिम्मेवारी परिवर्तन कुनै कारबाही नभई नियमित जिम्मेवारी हेरफेर मात्र हो।
पछिल्लो समय प्रहरी नेतृत्वमा देखिएको आन्तरिक खिचातानी र समाचारको स्रोत खोज्ने क्रममा पत्रकार पक्राउ परेका घटनालाई लिएर सरकारको कदमबारे विभिन्न चर्चा भइरहेका बेला नेतृत्व परिवर्तनको निर्णय आएको हो।
नवनियुक्त आईजीपी केसीले अब नेपाल प्रहरीको कमान्ड सम्हाल्नेछन्।





