काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको मस्कटमा नेपाली समय अनुसार बिहान ११:५ बजे हुने खेल नेपालका लागि अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो।
पहिलो खेलमा दुवै टोलीले क्यानडालाई पराजित गरेकाले मंगलबारको प्रतिस्पर्धा थप महत्त्वपूर्ण बनेको छ।
ओमानले शुक्रबार क्यानडालाई ४१ रनले हराएको थियो भने नेपालले आइतबार २१ रनको जित निकालेको थियो। रोहित पौडेलको शतकले प्रेरित नेपालले क्यानडालाई हराउँदै अंकतालिकामा छैटौँ स्थानमा उक्लिएको थियो। अब ओमानलाई पराजित गर्न सके नेपालले क्यानडासँगको अंकदूरी बढाउँदै शीर्ष ६ मा आफ्नो पकड बलियो बनाउन सक्छ।
लिग-२ मा ओमान २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा छ। पाँचौँ स्थानको नामिबियाभन्दा ओमान दुई अंकले अगाडि छ। ओमानका सात खेल बाँकी रहेकाले शीर्ष चारको दौडमा उसको स्थिति महत्त्वपूर्ण छ। नेपालसँगको खेलमा जित निकाल्दा ओमानलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न सहयोग पुग्नेछ।
नेपालले भने ३३ खेलबाट २६ अंक जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाको ३४ खेलबाट २५ अंक छ। नेपालले ओमानलाई हराएमा क्यानडासँगको अन्तर तीन अंक पुग्नेछ। आठौँ स्थानको संयुक्त अरब इमिरेट्स (यूएई)ले ३२ खेलबाट १९ अंक जोडेको छ।
ओमानसँगको खेलपछि नेपालले लिग-२ मा दुई खेल खेल्न बाँकी रहनेछ। क्यानडाका पनि दुई खेल बाँकी छन्। त्यसैले मंगलबारको नतिजाले नेपालको अंकतालिकाको स्थिति र आगामी खेलको दबाबमा प्रभाव पार्नेछ। बाँकी तीन खेलमध्ये कम्तीमा एकमा जित हात पारे नेपाललाई यूएईले अंकमा भेट्टाउन नसक्ने समीकरण छ।
क्यानडामाथिको जितपछि आत्मविश्वास बढाएको नेपालका लागि अब चुनौती त्यसलाई निरन्तरता दिनु हो। ओमानको घरेलु मैदानमा जित निकाल्न सके नेपालले शीर्ष ६ को दौडमा आफ्नो स्थिति थप सुरक्षित बनाउनेछ। तर हारले क्यानडासँगको प्रतिस्पर्धा अझ खुला रहने भएकाले नेपालका लागि यो खेल अंक र मनोबल दुवै हिसाबले महत्त्वपूर्ण छ।




