Skip to main content

Nidan Media

नवरात्रको तेस्रो दिन: आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादशैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज मङ्गलबार नवदुर्गामध्येकी तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

दशैँघर तथा पूजा कोठामा घटस्थापना गरी जमरा राखेसँगै शुरू भएको नवरात्रमा दुर्गा भवानीका नौवटै स्वरूपको क्रमशः पूजा गर्ने धार्मिक परम्परा छ।

धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीको शिरमा अर्धचन्द्र र हातमा चन्द्रमाको आधार भएको घण्टा रहने भएकाले उहाँको नाम चन्द्रघण्टा रहन गएको हो। पहेँलो वर्ण, शान्त र करुणामयी स्वरूपमा रहेकी देवीलाई शक्ति, साहस र शान्तिकी प्रतीकका रूपमा पूजा गरिन्छ।

पौराणिक मान्यताअनुसार चन्द्रघण्टा देवीको आराधना गर्नाले नकारात्मक शक्ति तथा दुष्ट प्रवृत्तिको नाश भई भक्तजनमा साहस, आत्मविश्वास र सकारात्मक ऊर्जा प्राप्त हुन्छ।

भक्तिपूर्वक पूजा गर्दा देवीको कृपा प्राप्त हुने र जीवनका बाधा-अड्चन हट्ने विश्वास पनि गरिन्छ। विशेषगरी सङ्गीत तथा कला क्षेत्रमा संलग्न व्यक्तिहरूले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने धार्मिक प्रचलन छ। यस दिन साधनाका क्रममा मणिपुर चक्रमा ध्यान केन्द्रित गर्ने मान्यता रहेको छ।

नवरात्रको पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। तेस्रो दिन चन्द्रघण्टाको आराधना गरिन्छ भने त्यसपछि क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ।

दशैँका अवसरमा देशभरका शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजास्थलमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने तथा देवीको आराधना गर्ने भक्तजनको चहलपहल बढेको छ।

आश्विनशुक्ल प्रतिपदादेखि शुरू हुने दुर्गा पक्ष विजयादशमी हुँदै कोजाग्रत पूर्णिमासम्म मनाइन्छ। यस अवधिमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजा, उपासना र आराधना गरी सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गरिन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.