काठमाडौँ । बडादशैँअन्तर्गत नवरात्रको दोस्रो दिन सोमबार नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ। दशैँ घर तथा घरघरका पूजाकोठामा विधिपूर्वक देवीको पूजा गर्ने परम्परा छ।
नवरात्रको पहिलो दिन आइतबार घटस्थापना गरी जौँको जमरा राख्नुका साथै नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ।
धार्मिक मान्यताअनुसार ब्रह्मको बोधका लागि निरन्तर साधनामा लागिरहने देवीलाई ब्रह्मचारिणी भनिएको हो। देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ। त्यसैले सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष पूजा आराधना गर्छन्।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। यस अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि पूजा आराधना र दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ।
हनुमानढोका दरबारस्थित दशैँ घरमा पनि राज्यका तर्फबाट ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। नवरात्रका नौ दिन पूजा आराधना गरी ग्रहण गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ।





