Skip to main content

Nidan Media

विश्वकप लिग-२ : नेपालद्वारा क्यानडा २४ रनले पराजित

काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा २११ रनमा समेटियो।

जितसँगै नेपालले लिग-२ को अंकतालिकामा ३३ खेलबाट २६ अंक जोडेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने अभियानमा रहेको नेपालका लागि यो जित महत्त्वपूर्ण बनेको छ। नेपालले अब मंगलबार आयोजक ओमानसँग खेल्नेछ।

टस जितेर फिल्डिङ रोजेको क्यानडाविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको सुरुआत कमजोर रह्यो।

ओपनर आसिफ शेख चार रनमा आउट भए भने ईशान पाण्डेले खाता खोल्न सकेनन्। अर्का ओपनर अर्जुन कुमालले ५३ बलमा २३ रन बनाए।

त्यसपछि कप्तान रोहित पौडेल र गुल्सन झाले नेपालको पारी सम्हाले। रोहितले १२७ बलमा १०१ रन बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो तेस्रो शतक पूरा गरे।

उनले जिम्मेवार ब्याटिङ गर्दै नेपालको स्कोर प्रतिस्पर्धात्मक अवस्थामा पुर्‍याए। गुल्सनले ३४ बलमा ४८ रन बनाए भने बसिर अहमदले ३० रनको योगदान दिए। क्यानडाका अखिल कुमार र सुखजिन्दर सिंहले समान तीन विकेट लिए।

२३६ रनको लक्ष्य पछ्याएको क्यानडाले शुरूआतमै युवराज शर्मालाई एक रनमा गुमायो। त्यसपछि आरोन जोनसन र समित गोहेलले ६३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे।

तर नेपाली बलरले नियमित अन्तरालमा विकेट लिएपछि क्यानडा दबाबमा परेको थियो। आदित्य वरादराजन शून्यमा आउट भए। श्रेयस मोभ्वालेर् र हमजा तारिकले समान २६ रन बनाए भने अखिल कुमार ३० रनमा अविजित रहे। यद्यपि क्यानडा २११ रनमै समेटियो।

नेपालका लागि नन्दन यादव, करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। नेपाली बलरको सामूहिक प्रदर्शनले क्यानडालाई लक्ष्यसम्म पुग्न दिएन।

लिग-२ को शीर्ष चारमा रहँदै विश्वकप छनोटमा सीधै पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको छ। अब नेपालले शीर्ष छभित्र रहेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्य राखेको छ। त्यसका लागि बाँकी खेलमा राम्रो प्रदर्शन गर्नुपर्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.