काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
बाढीका कारण गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रका विभिन्न बस्ती प्रभावित भएका छन्।
बाढीले चुमनुब्री-३ को न्याक्चेतबाट सिर्दिबासतर्फ जाने पुरानो झोलुङ्गे पुल, धार्चे-५ को माछिखोला-केरौँजा जोड्ने झोलुङ्गे पुल तथा आरुघाट-२ र ३ जोड्ने सोतीस्थित फलामे पुल बगाएको छ।
बाढीले धार्चे गाउँपालिका-५ को तल्लो माछिखोलाका घर तथा गोठमा क्षति पुर्याएको छ भने धार्चे-३ को सल्लेरीका केही घर जोखिममा परेका छन्। माछिखोला बजारसमेत प्रभावित भएको छ।
चुमनुब्री-६ को उङ्गिलुङ खोलामा आएको बाढीमा परी चार जना गोठाला बेपत्ता भएको तथा याक र नाकासहित चौपाया बगाएको विवरणसमेत सार्वजनिक भएको छ।
नेपाल प्रहरीले बाढीको जोखिम रहेका क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न तथा जारी गरिएका सूचना र सुरक्षा संकेतको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सुरक्षा निर्देशन पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
बाढीसम्बन्धी आपत्कालीन अवस्था आएमा वा उद्धारका लागि सहयोग आवश्यक परेमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, एम्बुलेन्स सेवा तथा जिल्ला प्रहरी कार्यालय गोरखामा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।





