काठमाडौँ। गोरखामा बूढीगण्डकी नदीको बाढीले ठूलो क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। बाढीले अन्य बस्तीमा समेत व्यापक क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि बाढीले ठूलो क्षति गरेको छ।
आइतबार बिहान करिब ४ बजे बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए।
विशेषगरी चुमनुब्री गाउँपालिका-३ का बजार क्षेत्रमा बाढीले धेरै क्षति पुर्याएको जनाइएको छ।
बाढीको जोखिम अझै रहेकाले स्थानीय प्रशासनले आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार सिर्दिबास तथा धार्चे गाउँपालिकाअन्तर्गत खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। तर, भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
यसैबीच घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
घटनालगत्तै उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको गृहमन्त्री गुरुङले बताएका छन्। उनका अनुसार उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेका छन्।
बूढीगण्डकी नदीको जलस्तर बढ्दै गएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन्।
उनले विशेषगरी सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन तथा सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन्।
गृहमन्त्री गुरुङले विपद्को यस घडीमा धैर्य कायम राख्दै आफ्नो तथा परिवारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। साथै, आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन्।



