Skip to main content

Nidan Media

आज सोह्र श्राद्धको अन्तिम दिन, भोलिदेखि बडादशैँको नवरात्र शुरू

काठमाडौँ । आश्विनकृष्ण प्रतिपदादेखि शुरू भएको पितृ पक्ष आज शनिबार समापन हुँदैछ।

सोह्र श्राद्धको अन्तिम दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने परम्परा छ। आश्विनशुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाका बुबाको श्राद्ध भने आइतबार गरिनेछ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदासहित १६ दिनसम्म दिवङ्गत पितृको स्मरणमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ।

कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध छुटेको भए औँसीका दिन गर्न सकिने धार्मिक मान्यता छ।

आज पनि श्राद्ध गर्न नसकिएमा आश्विनशुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने शास्त्रीय व्यवस्था छ।

त्यस अवधिमा पनि सम्भव नभए कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन वा वृश्चिक सङ्क्रान्तिसम्म उपयुक्त तिथि पारेर श्राद्ध गर्न सकिने उनले बताए।

निर्णयसिन्धु र धर्मसिन्धुलगायत धर्मशास्त्रीय ग्रन्थमा रोकिएको श्राद्ध गर्न विभिन्न वैकल्पिक समय र विधि उल्लेख छन्।

सोह्र श्राद्धको अन्तिम दिन काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, चितवनको देवघाट तथा नवलपरासीको त्रिवेणीलगायत तीर्थस्थलमा पितृको सम्झनामा तर्पण र पिण्डदान गर्ने श्रद्धालुको भीड लागेको छ।

पितृ पक्ष सकिएसँगै भोलि असोज २५ गते घरघरमा घटस्थापना गरिनेछ। घटस्थापनासँगै दुर्गापक्ष अर्थात् बडादशैँ औपचारिक रूपमा शुरू हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.