काठमाडौँ। बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक प्रभावित भएको जनाएको छ।
कोशी प्रदेशको भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
इलाम नगरपालिका-९ राजदुवालीमा मेची राजमार्ग अवरुद्ध हुने सम्भावना रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी सडकखण्डमा राति ६ देखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरको हेटौंडा-ठिङ्गन-बागमती-ललितपुर कान्तिलोकपथमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी र पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छन्।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर एकतर्फी, लमजुङको बेँसीसहर-मनाङ सडकखण्ड पूर्ण रूपमा, मुस्ताङको बेनी-जोमसोम सडकखण्ड एकतर्फी र मनाङको चामे-बेँसीसहर सडकखण्ड एकतर्फी सञ्चालनमा छन्।
गोरखाको बारपाक सुलिकोट-२ मान्द्रेगाउँमा पहिरोका कारण बारपाक-बालुवा कच्ची सडकखण्डमा सानो गाडीमात्र सञ्चालनमा रहेको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलामा बाढीका कारण जाजरकोट-डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।



