काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका-१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्।
कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका-३ का १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो।
टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



