पोखरा। रोटरी क्लब पोखरा भ्यालीको आयोजना तथा चिल्ड्रेन नेपालको सहयोगमा पोखरा महानगरपालिका-१६, अर्मला गर्ल्याङस्थित झुप्राङकोट प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
रोटरी क्लब पोखरा भ्यालीका अध्यक्ष रोटरियन नवीनराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो।
क्लब अध्यक्ष बरालले विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले क्लबले उपलब्ध गराएको सहयोग सानो देखिए पनि यसको सकारात्मक प्रभाव दीर्घकालीन र उल्लेखनीय हुने बताए।
विद्यार्थीको शैक्षिक विकास तथा सिकाइमा सहयोग पुर्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
कार्यक्रममा पोखरा महानगरपालिका-१६ की कार्यवाहक वडाध्यक्ष मञ्जु नेपालीले रोटरी क्लब पोखरा भ्यालीले विद्यालयलाई आवश्यक शैक्षिक सामग्री सहयोग गरेकोमा खुसी व्यक्त गरिन्।
जनप्रतिनिधि तथा वडा कार्यालयले गर्नुपर्ने कतिपय सामाजिक कार्यमा रोटरी जस्ता सामाजिक संस्थाले समेत सहयोग पुर्याउँदै आएको भन्दै उनले क्लबको योगदानको प्रशंसा गरिन्।
कार्यक्रममा चिल्ड्रेन नेपालका निर्देशक डिल्लीप्रसाद शर्मा, निवर्तमान अध्यक्ष विजयराज आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ननमाया गुरुङ, प्रधानाध्यापक बिष्णप्रसाद अधिकारी, रोटरियन कृष्णहरि पौडेल र रोटरियन सुशीलराज पराजुलीलगायतले बोलेका थिए।
वक्ताहरूले शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य सामाजिक क्षेत्रमा रोटरीले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै समुदायको आवश्यकता पहिचान गरी सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्नु रोटरीको महत्वपूर्ण भूमिका भएको बताए।
विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गरी गरिएको शैक्षिक सामग्री सहयोगले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमले विद्यालय, स्थानीय समुदाय र सामाजिक संस्थाबीचको सहकार्यलाई समेत थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।




