Skip to main content

Nidan Media

सुशासन कायम गरेर १५ खर्ब ८० अर्ब राजस्व उठाउँछौँ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गरेर चालु आर्थिक वर्षमा सरकारले राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्ने दाबी गरेका छन्।

राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै उनले गत वर्षको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य महत्त्वाकाङ्क्षी भए पनि हासिल गर्न सकिने बताए।

उनका अनुसार गत आर्थिक वर्षमा १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा राजस्व संकलन १२ खर्ब रुपैयाँ हाराहारीमा सीमित रहेको उल्लेख गर्दै उनले यस वर्ष लक्ष्य बढाइएको बताए।

कोभिड महामारीपछि नेपालको राजस्व वृद्धिदर औसतमा ७ देखि ९ प्रतिशतमा सीमित रहेको भन्दै अर्थमन्त्री वाग्लेले यो दरले अपेक्षित लक्ष्य हासिल गर्न नसकिने बताए। त्यसैले यस वर्ष २७ प्रतिशत राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको उनको भनाइ थियो।

राजस्व संकलनको गति बढाउन आफू पनि सक्रिय रूपमा लाग्ने बताउँदै उनले निजी क्षेत्रका सुझाव र गुनासा सुन्न सरकार तयार रहेको स्पष्ट पारे। तर कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा जोड दिँदै उनले हरेक हप्ता नीतिगत परिवर्तन गर्नु उचित नहुने बताए।

राजस्व लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सुशासन र नीतिगत सुधारबाट लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.