काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै निर्वाचनमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सधैँ कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन् ।
नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले आफूले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टिबारे पटक-पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिइएको बताए ।
उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त संख्या मात्रै पर्याप्त नहुने बताए। जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग आफूले पटक-पटक असहमति तथा चिन्ता राखेको स्मरण गर्दै उनले त्यसबेला आफूहरूले देखेका समस्या र दिएका सुझावलाई नेतृत्वले गम्भीर रूपमा नलिएको दाबी गरे ।
थापाले त्यसको राजनीतिक मूल्य आफूहरूले समेत चुकाउनुपरेको बताए । लोकतन्त्रमा कानूनी वैधानिकता मात्रै पर्याप्त नहुने भन्दै उनले राजनीतिक निर्णयको नैतिक वैधता र नागरिक स्वीकार्यताको पनि परीक्षण हुनुपर्ने बताए ।
संख्या पुग्दैमा कुनै निर्णय सही नहुने भन्दै नागरिक र समाजले त्यसलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ।
उनले राजनीतिक दलभित्र राजकीय पद प्राप्तिलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउने प्रवृत्तिले असन्तुष्टि बढाएको बताए ।
मन्त्री, सांसद, मेयर वा पार्टी सभापति बन्न नसके राजनीतिक जीवन असफल भएको ठान्ने प्रवृत्तिले दललाई नै असन्तुष्टि उत्पादन गर्ने संरचनामा परिणत गरेको उनको टिप्पणी थियो ।
थापाले पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्ति छैटौँपटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट हुने र दुई पटक पार्टी सभापति भइसकेको व्यक्ति तेस्रो पटक सभापति बन्न नपाउँदा असन्तुष्ट हुने प्रवृत्तिले राजनीतिक महत्वाकांक्षा बढ्दै गएको बताए ।
उनले कांग्रेसको विशेष महाधिवेशन तथा आन्तरिक वैधानिकताका विषयमा सर्वोच्च अदालतले गरेका कतिपय फैसला पुनरावलोकन हुनुपर्ने धारणा पनि राखे ।
अदालतका निर्णय वैधानिक भए पनि तिनले समाजमा कत्तिको वैधता प्राप्त गर्छन् भन्ने विषय महत्वपूर्ण हुने थापाको तर्क छ।



