काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले बिहीबार ४ गते बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । इलाम नगरपालिका-९ राजदुवालीमा मेची राजमार्ग पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी सडकखण्डमा राति ६ देखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाइएको छ।
बीपी राजमार्गमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको सम्भावना रहेको जनाइएको छ।
सिन्धुपाल्चोकको कोदारी र लिपिङ तथा रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड बाढी तथा पहिरोका कारण अवरुद्ध छन् ।
नुवाकोटको टोखा-छहरे सडकखण्डमा समेत राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेँसीसहर-मनाङ सडकखण्ड तथा मुस्ताङका बेनी-जोमसोम र जोमसोम-कोरला सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ ।
केही सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि दुईतर्फी सञ्चालन हुन समय लाग्ने प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट-डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।
प्रहरीले वर्षाका कारण सडकमा थप जोखिम हुन सक्ने भन्दै यात्रुले सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।



