काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले निर्वाचन समितिको मुख्य जिम्मेवारी निर्वाचन गराउनु भए पनि त्यसको निष्पक्षता सबैभन्दा महत्वपूर्ण हुने बताए ।
निर्वाचनको प्रक्रिया शुरू भएपछि राजनीतिक रुझान, मनपर्ने वा नपर्ने व्यक्तिभन्दा माथि उठेर सबैले निष्पक्षताको अनुभूति गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई निर्वाचन समितिको संयोजकको जिम्मेवारी दिँदा पनि निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको थापाले बताए । सदस्यता र निर्वाचन प्रक्रिया महाधिवेशनका मुख्य विषय रहेको उल्लेख गर्दै उनले यसपटक सदस्यता डिजिटलाइज भइसकेकाले विगतमा जस्तो विवाद नहुने दाबी गरे ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको सदस्यता व्यवस्थापन समितिले सदस्यताको विषय टुंग्याएर निर्वाचन समितिलाई हस्तान्तरण गर्ने र सोही सूचीलाई मतदाता सूचीका रूपमा प्रयोग गरिने थापाले बताए । सदस्यता वा निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि कुनै आशंका भए खुला छलफलका लागि आफू तयार रहेको उनको भनाइ थियो ।
असोज १६ गतेदेखि काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै मंगलबारदेखि महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको थापाले बताए ।
निर्वाचन समितिले तयार गरेको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाउनुपर्ने भन्दै उनले समयको चाप भए पनि कुनै अनियमितता वा पूर्वाग्रह नदेखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
थापाले महाधिवेशनका क्रममा जिल्लास्तरमा कानुन व्यवसायी, शिक्षक, प्राध्यापक तथा अन्य पेसाकर्मीलाई समेत निर्वाचन प्रक्रियामा सहभागी गराउन आग्रह गरे ।
नयाँ विधान, नियम तथा निर्वाचन निर्देशिकाबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै उनले महाधिवेशनपछि ‘फेयर अधिवेशन भयो’ भन्ने अवस्था निर्माण गर्नुपर्ने बताए ।





