Nidan Media

आज घर-घरमा नागको पूजा गरेर नागपञ्चमी मनाइँदै

पोखरा। आज नागपञ्चमी पर्व मनाइँदैछ। नागपञ्चमीका अवसरमा घरको मूलढोकामाथि नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ।

नागको पूजा गरेमा परिवारमा सुख, शान्ति कायम हुनुका साथै प्राकृतिक विपत्तिबाट सुरक्षा हुने धार्मिक विश्वास छ। नागका विभिन्न आकृतिसहितका रंगीन चित्र, दुबो, सालको पात र गाईको गोबरलगायत सामग्रीको किनबेच भइरहेको छ।

परम्पराअनुसार नागपञ्चमीका दिन बिहान स्नान गरी शुद्ध भएर घरको मूलढोकामा नागको चित्र टाँसिन्छ। त्यसपछि नागलाई दूध, दही, अक्षता, सिन्दूर, लावा र बेलपत्र चढाएर पूजा गरिन्छ। घरको ढोकामा नागको चित्र टाँस्दा सर्पदंश, चट्याङ, आगलागीलगायतका विपत्तिबाट सुरक्षा हुने धार्मिक मान्यता छ।

सनातन परम्परामा अनन्त, वासुकि, शेष, पद्म, महापद्म, तक्षक, कुलीर र कर्कट गरी आठ नागको पूजा गरिन्छ। नागलाई जलस्रोत, भूमि र प्रकृतिको संरक्षणको प्रतीकका रूपमा समेत लिइन्छ।

कृषिप्रधान समाजमा सर्पले मुसा तथा बालीमा क्षति पु¥याउने अन्य जीव नियन्त्रण गरी अन्नबाली जोगाउन सहयोग गर्ने भएकाले नागलाई प्रकृतिको महत्वपूर्ण हिस्सा मानिन्छ। यही कारण नागपञ्चमी धार्मिक पर्वसँगै प्रकृति र जीवजन्तुप्रतिको सम्मानको पर्वका रूपमा पनि मनाउने गरिएको छ।

वर्षौँदेखि घरको ढोकामा टाँसिँदै आएका नागका चित्रले नेपाली समाजमा पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्। भोलि नयाँ नागको चित्र टाँसेर पूजा गरेसँगै काठमाडौँ उपत्यकासहित देशभर नागपञ्चमी मनाइँदैछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.