Nidan Media

जाजरकोट पहिरो: दुईको मृत्यु, दुई जना अझै सम्पर्कविहीन

काठमाडौँ। अविरल वर्षापछि आएको पहिरोमा परी जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्।

पहिरोमा परी घाइते भएका सात जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

साउन ३० गते दिउँसो ४ बजेदेखि परेको अविरल वर्षापछि रिसाङ तथा आसपासका क्षेत्रमा पहिरो गएको हो। पहिरोले घर तथा टहरा भत्काउनुका साथै सडक तथा बाटोसमेत अवरुद्ध भएका छन्।

भेरी-२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा आइतबार बिहान ४ः५० बजे मृत्यु भएको छ।

यसअघि फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घरले पुरिएको अवस्थामा बिहान ८ः५५ बजे मृत फेला परेका थिए।

पहिरोमा घाइतेमध्ये रामबहादुर शाही र भद्राकली कार्कीको अवस्था गम्भीर छ।

उनीहरूलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ। अन्य घाइतेको पनि उपचार भइरहेको छ। तीन जना भने उपचारपछि डिस्चार्ज भएका छन्।

पहिरोपछि भाग्ने क्रममा भेरी-२ का करिब ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री सम्पर्कविहीन छन्। उनीहरूको खोजी जारी छ।

पहिरोको जोखिममा रहेका किरब ७० घरपरिवारका दुई जनालाई त्रिभुवन आधारभूत विद्यालयमा राखिएको छ। थप ५४ जनालाई पनि विभिन्न सुरक्षित स्थानमा सारिएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जोखिमका बीच पैदल घटनास्थल पुगेर खोज, उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काममा खटिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.