काठमाडौँ। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ७ बजेसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकमा सवारी आवागमन प्रभावित भएको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग, इलाम नगरपालिका-९ राजदुवालीमा अविरल वर्षाका कारण झापादेखि ताप्लेजुङ जाने सडक तथा संखुवासभाको भोटखोला गाउँपालिका-३ सिरेक डाँडमा मेची राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
बागमती प्रदेशमा काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी सडकखण्डमा बाढीको जोखिमका कारण राति ६ देखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा अरनिको राजमार्ग तथा रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड पनि अवरुद्ध छन्। मकवानपुरको कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
गण्डकी प्रदेशमा बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ।
बागलुङ नगरपालिका-४ तल्लो बान्द्रेमा बागलुङ-बेनी सडकखण्ड, लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बेँसीसहर-मनाङ सडकखण्ड तथा मुस्ताङको थासाङ गाउँपालिका-४ कैकु खोलामा बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
लुम्बिनी प्रदेशको रोल्पास्थित थबाङ गाउँपालिका-२ साइँली माइली मोडमा सहिद मार्ग तथा कर्णाली प्रदेशको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलामा भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्ड अवरुद्ध छन्।
सल्यानको कपुरकोट गाउँपालिका-४ अरिङ्गालेमा पहिरोका कारण राप्ती राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीले सडकको अवस्था हेरेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।
वर्षा निरन्तर भइरहेकाले अवरुद्ध सडकखण्डको अवस्था थप प्रभावित हुन सक्ने भन्दै यात्रुले सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने देखिएको छ।




