काठमाडौँ। रोल्पाको थबाङ गाउँपालिका-५ कोतलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ५ जनाको मृत्यु भएको छ । पहिरोमा परी आठ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी मृत्यु हुनेमा थबाङ-५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।
पहिरोमा परी थबाङ-५ का २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् । उनीहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा बेपत्ता हुनेमा थबाङ-५ का ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर छन् ।
अविरल वर्षासँगै रातिको समयमा पहिरो खसेर घर तथा गोठ पुरिँदा मानवीय क्षति भएको हो । घटनापछि सुरक्षा निकाय तथा स्थानीयवासी उद्धार र बेपत्ताको खोजीमा जुटेका छन् । लगातार वर्षा भइरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।
पहिरोले थप क्षेत्रमा समेत जोखिम बढाएकाले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तथा प्रभावित परिवारको अवस्थाबारे विवरण संकलन गर्ने काम भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




