Nidan Media

विभिन्न सडकखण्डमा यातायात अवरुद्ध, केही सडकमा राति सवारी रोक

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक रूपमा यातायात अवरुद्ध रहेको जनाएको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ। इलाम नगरपालिका–९ राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्गसमेत प्रभावित भएको छ।

बागमती प्रदेशमा काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी सडकखण्डमा सम्भावित बाढीका कारण राति ६ देखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको अवस्था हेरी सवारीसाधन सञ्चालन गर्न दिइने जनाइएको छ। मकवानपुरको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर सडकखण्डमा पनि राति ५ बजेदेखि अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

रसुवाको भोटेकोशी गाउँपालिका-४ चारकिलोस्थित तातोपानी जाने बाटो, भोटेकोशी गाउँपालिका-२ कोदारी तथा उत्तरगया गाउँपालिका-५ खाल्टेमा सडक पूर्ण रूपमा अवरुद्ध छन्।

त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्डसमेत लामो समयसम्म रहने गरी पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशअन्तर्गत बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ।

लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पनि एकतर्फी सञ्चालनमा छ।

लुम्बिनी प्रदेशको रुकुम पूर्वस्थित भूमे गाउँपालिका-४ काडाबगरमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ रिजेगार्डस्थित भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्ड पनि खोलाका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सहज बनाउने प्रयास भइरहेको छ। वर्षा र पहिरोको जोखिम कायमै रहेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.