काठमाडौँ। रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घटनामा १० जना बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बुधबार राति करिब ८ः४० बजे अविरल वर्षासँगै माथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब छ ओटा घर तथा गोठ पुरेको हो।
घटनाको जानकारी राति ९ः३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
स्थानीयको सहयोगमा राति ११ः५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।
उनीहरूलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएर १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको छ। उनीहरूलाई पहिरोमा पुरिएको अवस्थामा मृत फेला पारिएको हो।
थप उद्धार तथा खोजीका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
बिहान ४ः३० बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका छन्।
प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका तथा सम्पर्कविहीन मानिसको संख्या १० जना पुगेको छ। घटनास्थलमा फोन सम्पर्क हुन नसकेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी छ।





